काठमाडौँ । राष्ट्रियसभा सदस्य वामदेव गौतमले वर्तमान व्यवस्था ल्याउने प्रमुख शक्तिहरू नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरू मिलेर तत्काल समाजवाद घोषणा गर्नुपर्ने बताएका छन् ।
राष्ट्रियसभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले दश वर्षअघि निर्माण र लागू भएको संविधानले देशलाई समाजवादमा लैजाने भने पनि दलहरूले केही पनि गर्न नसकेको बताए । उनले दल तथा सरकारले संविधानको भावना र मर्मलाई आत्मसाथ गर्ने गरी काम गर्न नसक्दा जनतामा निराशा आएको बताए । उनले नेपालको कुनै पनि सार्वजनिक स्थानमा जाँदा जनताहरू नेता तथा व्यवस्थाको विरुद्धमा रहेको जिकिर गरे ।
उनले समाजमा व्यवस्था विरोधी शक्तिले गति लिइरहेको बताए । उनले दलहरूले समयमै सचेत भएर जन गुनासो सम्बोधन गर्न नसके अर्को व्यवस्था आउन सक्नेतर्फ सचेत हुनुपर्ने बताए । देश ठुलो दुर्घटनाको छेउमा पुगिसकेको र परिवर्तनको सिद्धान्तअनुसार पनि कसैले रोक्न नसक्ने उनको भनाइ छ ।




