कास्की :- गत आर्थिक वर्षमा दूध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रममार्फत कास्कीका किसानलाई २ करोड २० लाख रुपैयाँ अनुदान वितरण गरिएको छ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार ४४ लाख लिटर दूध उत्पादनको लक्ष्य राखिएकामा लक्ष्यअनुसार नै उत्पादन भएको थियो। किसानलाई प्रतिलिटर ५ रुपैयाँका दरले सहकारीमार्फत प्रोत्साहन अनुदान उपलब्ध गराइएको कार्यालय प्रमुख डा. गृष्म न्यौपानेले जानकारी दिए।
कास्कीमा २७ वटा दूध संकलन केन्द्रमार्फत वार्षिक ६९ लाख २३ हजार ७०० लिटर दूध संकलन हुने गरेको छ भने ८ हजार ५० जना किसान दूध संकलन प्रणालीमा आबद्ध छन्।
यस्तै, पाडीबाच्छी हुर्काउने प्रोत्साहन कार्यक्रमअन्तर्गत ३५० को लक्ष्य रहेकामा ४५४ वटा पाडीबाच्छी हुर्काइएको छ। यसबाट आगामी वर्ष करिब १२ लाख लिटर थप दूध उत्पादन हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।
कास्कीमा पशुपालनमा आबद्ध परिवारको संख्या ५२ हजार ३२३ रहेको छ। कार्यालयले चालु आर्थिक वर्षमा पनि दूध उत्पादन प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिएको जनाएको छ।












