काठमाडाैं :- निर्मला पन्तको हत्या प्रकरणमा सोधिएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले उत्तर दिन इन्कार गरेका छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री गुरुङसँग प्रश्नोत्तर कार्यक्रम राखिएको थियो। साेही अनुसार सांसद विष्णुबहादुर विश्वकर्माले गृहमन्त्री गुरूङलाई ‘कञ्चनपुरकी निर्मला पन्त घटनाको दोषी पत्ता लगाएर न्याय दिन नसक्नुको कारण के हो र कहिलेसम्म सरकारले न्याय दिलाउँछ?’ भनेर प्रश्न सोधेका थिए।
उत्तरमा गृहमन्त्री गुरुङले याे विषय संवेदनशील रहेको र संसद्मा धेरै कोट्याउन नहुने बताए। आफू सत्तामा हुँदा किन नगरेकाे भन्दै उनले सांसदलाई नै उल्टै प्रश्न गरे।
‘यो विषय एकदमै सेन्सेटिभ छ। यो प्रश्न हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदा किन नगर्नुभएको? अहिले हामीलाई त्यो भारी बोकाउँदै गर्दा यो संवेदनशील विषय हो। यो विषय उठाइराखेर आमाको घाउ र उहाँहरूलाई पीडा दिने कि अनुसन्धान गरी न्याय दिने? घटना सम्झाइरहँदा उहाँहरूको मनमा शान्ति हुन्छ त? यो अनुसन्धानको विषय हो र सुक्ष्म अनुसन्धान भइरहेको छ,’ गृहमन्त्रीले भने, ‘अबदेखि यो प्रश्न प्रतिनिधि सभा र राष्ट्रिय सभामा नउठाउन म आग्रह गर्छु। बरू व्यक्तिगत रूपमा भेटेर मलाई यस विषयमा सोध्नुहोला, मसँग उत्तर छ। एउटी आमाको पीडामाथि मल्हम लगाउनुभन्दा घटना कोट्याइराख्ने? म यो विषयमा माफ माग्न चाहन्छु, राम्रो उत्तर दिन सक्दिनँ होला।’
त्यसपछि सांसद विश्वकर्मालाई पुरक प्रश्न सोध्न समय दिइएकाे थियाे। उनले फेरि सोधे, ‘निर्मलाका हत्यारा कहिले पक्राउ पर्छन्?’
जवाफमा गृहमन्त्रीले भने, ‘म यसको उत्तर दिन चाहदिँन।’












