काठमाडौं :- प्रहरीले दुबईबाट काठमाडौं आएका एक बंगलादेशी नागरिकको पेटभित्र लुकाएर ल्याइएको सुनजस्तो देखिने पहेँलो धातु बरामद गरेको छ।
फ्लाई दुबईको उडान एफजेड ११३३ मार्फत काठमाडौं आएका बंगलादेशी नागरिक मोहम्मद रासेल हल्दारलाई शंका लागेपछि प्रहरीले सोधपुछ गरेको थियो। सो क्रममा उनले करिब १५० ग्राम सुन लुकाएर ल्याएको बताएका थिए।
त्यसपछि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा गरिएको पेल्भिक एक्स–रे परीक्षणका क्रममा उनको पेटभित्र शंकास्पद धातु रहेको देखिएको प्रहरीले जनाएको छ।
शुक्रबार शौच गर्ने क्रममा उनको शरीरबाट करिब १५० ग्राम तौलका सुनजस्तो देखिने क्याप्सुल आकारका दुईवटा धातु निकालिएको प्रहरीले जनाएको छ।
बरामद धातुसहित हल्दारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।












