काठमाडौँ :- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिक तथा पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने व्यवस्था गरेको छ।
रास्वपाले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। लोकतन्त्रमा निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने मान्यताअनुसार जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको हो।
रास्वपाका सहमहामन्त्री असिम शाहका अनुसार कार्यक्रमको पहिलो चरणमा एक घण्टा आमनागरिकका लागि खुला रहनेछ। यस क्रममा उपस्थित मन्त्रीले नागरिकका गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्नुपर्नेछ।
दोस्रो चरणमा मन्त्री, केन्द्रीय समिति सदस्य र प्रतिनिधिसभा सदस्यबीच बैठक बसेर नागरिकबाट प्राप्त सुझावका आधारमा समसामयिक तथा नीतिगत विषयमा साझा रणनीति तय गरिनेछ।
कार्यक्रममार्फत मन्त्रीलाई नागरिकप्रति प्रत्यक्ष जवाफदेही बनाउने, नागरिकका वास्तविक समस्या बुझेर नीति तथा कानुन निर्माणमा पार्टीको धारणा तय गर्ने र सरकार, संसदीय दल, पार्टी संगठन तथा नागरिकबीच प्रभावकारी समन्वय कायम गर्ने लक्ष्य रास्वपाले लिएको छ।












