काठमाडौं :- नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह र सङ्घर्षमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने कमजोर देखिएको टिप्पणी गरेका छन् ।
आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले वामपन्थी आन्दोलनको पुनर्जागरणका लागि विगतका कमजोरीको निर्मम समीक्षा हुनुपर्नेमा जोड दिएका हुन् ।
कम्युनिस्ट आन्दोलनमा अधिकार र सङ्घर्षका कुरा धेरै भए पनि समाज बदल्ने मुख्य आधार मानिएको अर्थराजनीतिको विषय उपेक्षित भएको उनको भनाइ छ। क्रान्तिपूर्व ‘सरकार शक्ति सञ्चयको आधार हो’ भन्ने मान्यता रहे पनि व्यवहारमा भने सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण हुन पुगेको उनले स्वीकार गरेका छन्।
कम्युनिस्ट नेतृत्वको सरकारले देशभक्ति, पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम गरे पनि जनसमर्थन भने बढ्नुको साटो घटेको पोखरेलले उल्लेख गरेका छन्। उनका अनुसार २०५१ मा मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार र २०७२ मा केपी शर्मा ओली नेतृत्वको ९ महिने सरकारबाहेक अन्य कुनै पनि वामपन्थी सरकारले जनमत बढाउन सकेका छैनन्।
उनले भनेका छन्, नेपालका कम्युनिस्टहरू सङ्घर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा आमरुपमा कमजोर देखिए । अखिर किन ? कम्युनिष्ट आन्दोलनमा अधिकार र सङ्घर्षका कुरा धेरै भए, तर समाज बदल्ने मुख्य आधार ‘अर्थराजनीति’ को विषय उपेक्षित रह्यो। क्रान्तिपूर्वको ‘सरकार शक्ति सञ्चयको आधार हो’ भन्ने मान्यता व्यवहारमा लागुहुन सकेन । सरकारमा हुँदा आमरुपमा शक्ति क्षयीकरण हुनु पुग्यो । कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार हुदा देशभक्ति,पूर्वाधार विकास र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेख्य काम भए । तर पनि जनसमर्थन भने बढ्नुको साटो आमरुपमा घट्न पुग्यो । २०५१ को मनमोहन नेतृत्वको अल्पमतको सरकार र २०७२ को केपी ओली नेतृत्वको ९ महिने वामपंथी सरकारमा बाहेक अन्य कुनै पनि वामपन्थी नेतृत्वको सरकारले जनमत बढाउन सकेनन्। आम निर्वाचन २०८२मा सिंगो वामपंथी आन्दोलनले वेहोर्नु परेको असाधारण धक्काले वाम तथा कम्युनिष्ट आन्दोलनका वारेमा नयाँ ढंगले चिन्तन मनन गर्नु पर्ने ठाउमा पुर्याएको छ । यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार हुँदा आधारभूत वर्ग र समुदायका जनता नै कम्युनिष्ट पार्टीसंग किन टाढिए ? किन नेता र कार्यकर्तामा सामाजिक परिवर्तन प्रतिको हुटहुटी सिथिल भयो ? भन्ने कुराको निर्मम समीक्षा नगरी कम्युनिस्ट आन्दोलनको पुनर्जागरण सम्भव छैन। हरेक समस्याका पछाडी कुनै न कुनै कारण हुन्छ र त्यसको समाधान पनि त्यस्मै निहित हुन्छ । यो मार्क्सवादी मान्यता हो । तसर्थ समस्या छ भनेर भाग्ने होइन, सामना गरेर अघि बढ्ने हो ।”












