काठमाडौं :- युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले युवालाई स्वदेशमै रोजगारीका पर्याप्त अवसर सिर्जना गरी राष्ट्र निर्माणमा जोड्न मन्त्रालयले ऐतिहासिक नीतिगत तथा संरचनागत सुधार अघि बढाएको बताएका छन्।
श्रम तथा रोजगार कार्यालय मोरङको नयाँ भवन उद्घाटन गर्दै मन्त्री यादवले बदलिँदो श्रम बजारको माग र श्रमिकका आकाङ्क्षा सम्बोधन गर्न पहिलोपटक नयाँ श्रम नीति निर्माण गर्नुका साथै श्रम ऐन संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी दिए।
श्रम क्षेत्रको व्यवस्थापन तथा नियमनका लागि पुरस्कार र दण्डको नीति अवलम्बन गरिने बताउँदै उनले कानुन पालना नगर्ने प्रतिष्ठानलाई कारबाहीको दायरामा ल्याइने र जिम्मेवार रोजगारदातालाई सम्मान तथा प्रोत्साहन गरिने स्पष्ट पारे।
सरकारले चालु वर्षलाई ‘रोजगार प्रवर्द्धन दशक’का रूपमा घोषणा गरेको उल्लेख गर्दै मन्त्री यादवले स्वदेशी रोजगारीलाई मर्यादित, सुरक्षित र सम्मानजनक बनाउने बताए। कृषि, पर्यटन, हरित रोजगारी तथा केयर सेवाजस्ता क्षेत्रमा रोजगारी प्रवर्द्धनका लागि तयारी भइरहेको र रोजगारदाता तथा रोजगारी खोज्नेबीच समन्वय गर्न ‘श्रम संसार’ प्रणालीलाई परिमार्जन तथा स्तरोन्नति गरिएको उनको भनाइ थियो।
मन्त्री यादवका अनुसार गत आर्थिक वर्षमा ३ हजार ८३० वटा प्रतिष्ठान, ३ हजार ६३५ वटा बालश्रमसम्बन्धी क्षेत्र तथा २२० वटा श्रमिक आपूर्तिकर्ता कम्पनीको निरीक्षण गरिएको थियो। सो अवधिमा ७६१ वटा श्रम विवादसमेत समाधान गरिएको उनले जानकारी दिए।












