काठमाडौं । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा पाँच जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन्। जिल्लामा जेई सङ्क्रमण पुष्टि भएकामध्ये मेचीनगरका तीन, बिर्तामोडका दुई तथा हल्दिबारी, बाह्रदशी, कचनकवल र अर्जुनधाराका एक–एक जना रहेका छन्।
स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये अधिकांश ५० वर्षभन्दा माथिका छन्।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। सङ्क्रमण भएपछि भाइरसले मुख्यतः मस्तिष्कमा असर गर्ने गर्दछ।
सुँगुर र हाँसलाई जेई भाइरसका मुख्य स्रोत मानिन्छ। सुँगुर पालन गर्ने व्यक्ति तथा धानखेत र पानी जम्ने क्षेत्र आसपास बसोबास गर्ने मानिस सङ्क्रमणको उच्च जोखिममा रहने स्वास्थ्यकर्मीले बताएका छन्।












