नुवाकोट :- नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बस र ईभी भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार बिहान पौने ९ बजे टोखा–छहरे सडकखण्डमा काठमाडौंबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा प्र ०८–००१ ख ००५२ नम्बरको बस चालक र यात्रुहरू खाजा खान गएका बेला अचानक आफैं गुडेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
बसले सडक छेउमा रोकिराखेको बा प्र ०३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई समेत ठक्कर दिएको थियो। दुवै सवारीसाधन सडकबाट करिब ३०–४० मिटर तल खसेका थिए।
दुर्घटनामा बनेपा–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछाप ठाडादेवी–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको छ।
घाइते सुजता पोखरेल, सर्मिला श्रेष्ठ र ज्ञानु श्रेष्ठको काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ।
बसमा सवार यात्रुहरू खाजा खान गएका कारण दुर्घटनाका बेला बसमा कति यात्रु थिए भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ। घटनामा बस चालक काभ्रे पाँचखाल–७ का ४५ वर्षीय सिताराम आचार्यलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।












