काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सबैभन्दा धेरै कर तिर्ने करदातालाई राज्यले सधैं सम्मान गर्नुपर्ने बताएका छन्।
नेपाली युवा उद्यमी मञ्च (NYEF) को २२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले युवाले स्वदेशमै सम्भावना खोजेर अघि बढे राज्यले आवश्यक सहयोग गर्ने बताए। उद्यमशीलतामार्फत मुलुकको अर्थतन्त्र बलियो बनाउन युवाको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो।
उद्यमी तथा व्यवसायीले करमार्फत राज्यलाई महत्वपूर्ण योगदान दिइरहेको उल्लेख गर्दै लामिछानेले उनीहरूलाई प्रोत्साहन र सम्मान गर्ने वातावरण बनाउनुपर्ने बताए।
सरकारले चार महिनामा पनि केही गर्न नसकेको भन्दै प्रश्न उठ्न थालेको प्रसंग उल्लेख गर्दै उनले सरकारले विस्तारै काम गरिरहेको दाबी गरे। आगामी दिनमा अझ राम्रो परिणाम देखिने गरी सरकार अघि बढिरहेको उनको भनाइ थियो।
सरकारले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने बताउँदै लामिछानेले सरकार गलत बाटोमा गए आफूहरूले निगरानी र खबरदारी गर्ने बताए। युवालाई स्वदेशमै उद्यम, व्यवसाय र रोजगारी सिर्जना गर्न प्रोत्साहित गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको उनले बताए।












