काठमाडौं :- बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले मन्त्रिपरिषद् विस्तार गर्दै एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ६ जनालाई मन्त्री नियुक्त गरेका छन्।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका छन्। एमालेबाट भरतबहादुर केसी र ज्ञानबहादुर तामाङ, नेकपाबाट सरल सहयात्री तथा राप्रपाबाट गिरबहादुर तामाङ, राजु विष्ट र राजेन्द्र प्रजापति मन्त्री बनेका छन्।
भरतबहादुर केसीले भौतिक पूर्वाधार विकास, सरल सहयात्रीले आर्थिक मामिला तथा योजना, गिरबहादुर तामाङले स्वास्थ्य तथा सामाजिक, राजु विष्टले खानेपानी, ऊर्जा तथा सिँचाइ र राजेन्द्र प्रजापतिले उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्। ज्ञानबहादुर तामाङ भने बिना विभागीय मन्त्री बनेका छन्।












