काठमाडौं :- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले एलपिजी ग्यास धेरै खपत गर्ने उद्योग एवं तारे होटलको अनुगमन गर्न आग्रह गरेकी छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले आज सिंहदरबारमा आयोजना गरेको ‘अत्यावश्यक दैनिक खाद्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापनबारे सरोकारवाला निकायसँगको छलफल’मा उनले खाना पकाउने ग्यासको अधिक भण्डारणका विषयमा संयुक्त अनुगमन गर्न आग्रह गरीन् ।
संसदीय समिति, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र उपभोक्ता अधिकारकर्मीहरूको संयुक्त अनुगमन टोलीले अनुगमन गरेर वास्तविकता पत्ता लगाउने र समस्याको समाधान गर्नुपर्ने उनले आवश्यकता औँल्याइन् । सांसद तथा सरोकारवाला निकायले उठाएको जिज्ञासाको उत्तर दिँदै उनले अनुगमनबाट देखिएको कैफियतमा कारबाही गर्न मन्त्रालय तयार बताइन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले पाँचतारे होटलहरूले अत्यधिक मात्रामा ग्यास स्टक राखेकाले सर्वसाधारणले ग्यासको हाहाकार भोग्नुपरेको गुनासो गरे ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले अहिले देखिएको ग्यास तथा खाद्य आपूर्तिमा देखिएको समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर समस्याको समाधान गर्नका लागि अनुरोध गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थसम्बन्धी ऐन र कालोबजारीविरुद्धको ऐन ल्याउनको लागि आवश्यक तयारीमा जुट्नका लागि निर्देशन दिए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले मन्त्रालयले आफ्नो क्षमता र सामथ्र्यले भ्याएसम्म स्पष्ट योजना बनाएर अघि बढ्न खोजेको स्पष्ट पारे । उनले मन्त्रालय र मातहतको निकायसँग सीमित स्रोतसाधनको बाबजुत पनि अधिकतम बजार अनुगमन गर्ने प्रयास गर्दै आइरहेको बताए ।












