काठमाडौँ :- इन्डोनेसियाको पूर्वी जाभास्थित ब्रोमो टेङ्गर सेमेरु राष्ट्रिय निकुञ्जमा करिब एक सातादेखि डढेलो फैलिएपछि अधिकारीहरूले पर्यटकको प्रवेशमा रोक लगाएका छन्।
राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका अनुसार सोमबारदेखि लागेको डढेलोले हालसम्म करिब १७६ हेक्टर क्षेत्रफल प्रभावित भएको छ। आगलागीका कारण हालसम्म मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।
डढेलो नियन्त्रणका लागि दुईवटा पानी बम प्रहार गर्ने हेलिकप्टर परिचालन गरिएको छ। भिरालो भूभाग र तीव्र हावाका कारण जमिनबाट पुग्न कठिन क्षेत्रमा हवाई माध्यमबाट आगो नियन्त्रण गर्ने प्रयास भइरहेको अधिकारीहरूले बताएका छन्।
यसअघि सन् २०२३ मा माउन्ट ब्रोमो क्षेत्रमा लागेको डढेलोले ५०० हेक्टरभन्दा बढी वन क्षेत्र नष्ट गरेको थियो। यस वर्ष इन्डोनेसियामा सुख्खा मौसम लामो र तीव्र हुने अनुमान गरिएकाले डढेलो तथा खडेरीको जोखिम अझ बढ्ने चेतावनी दिइएको छ।












