काठमाडौं :- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारी अभिलेख नष्ट हुन नदिन सरकारले डिजिटलाइजेसनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन्।
जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सरकारी स्रेस्तासम्बन्धी सार्वजनिक लेखा समितिको बैठकमा अर्थमन्त्री वाग्लेले कागजी अभिलेखलाई तत्काल डिजिटल स्वरूपमा सुरक्षित गर्ने र सम्पूर्ण सरकारी अभिलेख व्यवस्थापन प्रणालीलाई डिजिटल बनाउनेतर्फ सरकार अघि बढेको जानकारी दिएका हुन्।
उनले २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा सरकारी स्रेस्ता जलेर नष्ट भएको बताए। नष्ट भएका प्राथमिक अभिलेखको विकल्पमा उपलब्ध द्वितीयक तथ्यांक प्रयोग गरी क्षतिको यथासम्भव पुनःस्थापना गर्नुपर्नेमा उनले जोड दिए।
प्राथमिक तथ्यांक नष्ट भए पनि द्वितीयक तथ्यांकबाट त्यसलाई सकेसम्म पुनःस्थापना गर्नु वैज्ञानिक र स्वाभाविक उपाय भएको उनको भनाइ छ। विनियोजन, धरौटी तथा पेस्कीसँग सम्बन्धित रकम बैंकिङ प्रणालीलगायत उपलब्ध द्वितीयक तथ्यांकबाट प्रमाणीकरण गर्न सकिने उनले स्पष्ट पारे।












