काठमाडौं :- प्रतिनिधिसभाको आजको बैठकले नेपालको विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सर्वसम्मतिले पारित गरेको छ ।
सभामुख डोलप्रसाद अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभएको हो । प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
यसअघि बैठकले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको उक्त विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको थियो ।
छलफलका क्रममा मन्त्री गौतमले देशको समग्र सुरक्षा अवस्थासँग सम्बन्धित सूचना एकीकृत रूपमा प्रधानमन्त्रीसमक्ष पुग्न आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्रीले देशको समग्र सुरक्षाको जिम्मेवारी लिने भएकाले अनुसन्धान तथा गुप्तचरसम्बन्धी विषय प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्नुपर्ने सरकारको धारणा रहेको उहाँले स्पष्ट पार्नुभयो ।
अर्थ मन्त्रालय र गृह मन्त्रालयमा मात्र सीमित नभई विभिन्न क्षेत्रसँग सम्बन्धित अनुसन्धान गुप्तचर निकायबाट हुनुपर्ने उल्लेख गर्दै मन्त्री गौतमले राष्ट्रिय अनुसन्धान ब्युरोलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
विधेयकमाथिको छलफलमा सांसदहरू सृष्टि भट्टराई, ललिताकुमारी, गणेशबहादुर विश्वकर्मा, दीपककुमार शाह, शाहजान खातुन, यशोधाकुमारी बराल र साजिदा खातुन सिद्धिकीले भाग लिँदै आफ्ना धारणा, जिज्ञासा तथा सुझाव राख्नुभएको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक साउन २६ गते मंगलबार दिउँसो १ बजे बस्नेछ ।












