काठमाडौँ :- सप्तकोशी नदीमा पानीको बहाव लगातार बढेपछि सुनसरी जिल्ला प्रशासनले विपद् प्रतिकार्य तयारीलाई तीव्र बनाएको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूले कोशी ब्यारेजको स्थलगत अनुगमन गरेका छन्।
हाल कोशी ब्यारेजमा प्रतिसेकेन्ड एक लाख ५१ हजार १९५ क्युसेक पानीको प्रवाह रहेको छ।
बढ्दो जलप्रवाहका कारण ब्यारेजका २० वटा ढोका खोलिएको छ। कोशीमा पानीको बहाव एक लाख ५० हजार क्युसेक नाघेपछि उच्च सतर्कताको संकेतस्वरूप रातो बत्ती बाल्ने व्यवस्था रहेको छ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले बाढी, डुबान र कटानको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्लामा विपद् प्रतिकार्य योजना कार्यान्वयनमा रहेको जानकारी दिनुभयो।
उद्धार, राहत, सुरक्षित स्थानान्तरण तथा आवश्यक परे पुनःस्थापनाका लागि सबै निकाय तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो।












