काठमाडौँ :- राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्वपूर्ण परियोजना भएको बताएका छन्।
काठमाडौंमा ‘ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन समारोहमा बोल्दै दाहालले बीआरआईले ग्लोबल साउथका देशहरूलाई आपसमा जोड्ने उद्देश्य राखेको बताए।
उनले बीआरआईलगायतका सहकार्यले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउन सक्ने उल्लेख गर्दै चीन नेपालका लागि असल छिमेकीसँगै महत्वपूर्ण लगानीकर्ता र विकास साझेदार रहेको बताए।
दाहालले साझा इतिहास, संस्कृति र परम्पराको अध्ययनले नेपाल–चीन सम्बन्धलाई थप बुझ्न सहयोग पुग्ने धारणा पनि व्यक्त गरे।












