रसुवा :- भोटेकोशी नदीमा आएको बाढीपछि चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव पहिचान गरी आज सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ।
केन्द्रका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव फेला परेको थियो।
उनीहरूको शव केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार फेला परेको हो। नेपाली सेनाको हेलिकप्टरमार्फत शव नुवाकोट लगेर परिवारजनलाई हस्तान्तरण गरिएको महर्जनले जानकारी दिए।
बाढीले चिलिमे जलविद्युत् केन्द्रको सुरुङ पुरिनुका साथै ११ मेगावाट क्षमताका दुईवटा टर्बाइनसहित सम्पूर्ण संरचनामा क्षति पुर्याएको जनाइएको छ।












