काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधन शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीका महामन्त्री विपिन आचार्यले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको तत्काल निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सुरक्षा निकायसँग माग गरेका छन्।
साथै, सञ्चारमाध्यमको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्दै संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सरकार, गृह मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
रास्वपाले सञ्चारमाध्यमलाई कुनै दबाब वा त्रासमा नपरी सत्यमा आधारित पत्रकारिता जारी राख्न पनि आग्रह गरेको छ।



