काठमाडौं :- डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गोमा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा तीव्र रूपमा फैलिरहँदा सङ्क्रमितको सङ्ख्या १,५२८ पुगेको छ भने ४९२ जनाको मृत्यु भएको छ।
कङ्गोका जनस्वास्थ्य अधिकारीले शनिबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार हालसम्म २३९ जना सङ्क्रमणमुक्त भएका छन् भने ६२८ जना आइसोलेसन केन्द्र तथा अस्पतालमा उपचाररत छन्। साथै, १८५ जना शङ्कास्पद बिरामीको पनि पहिचान गरिएको छ।
प्रतिवेदनमा पछिल्ला साताहरूमा नयाँ सङ्क्रमण तीव्र रूपमा बढ्दै गएको उल्लेख गर्दै २५औँ र २६औँ सातामा प्रत्येक सातामा ३०० भन्दा बढी नयाँ सङ्क्रमण पुष्टि भएको जनाइएको छ। यसले इबोला अझै समुदायस्तरमै सक्रिय रूपमा फैलिरहेको देखाएको अधिकारीहरूको भनाइ छ।
महामारी नियन्त्रणमा मृत्युपश्चात् नमूना सङ्कलनमा समुदायको असहयोग, विशेषगरी उत्तर किभुस्थित इबोला उपचार केन्द्रहरूको सीमित क्षमता, सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको प्रभावकारी खोजी गर्न नसक्नु तथा प्रयोगशाला परीक्षणमा हुने ढिलाइ प्रमुख चुनौतीका रूपमा देखिएका छन्। औषधि, सङ्क्रमण नियन्त्रण सामग्रीको अभाव, असुरक्षा र प्रभावित क्षेत्रमा सीमित पहुँचले पनि नियन्त्रण प्रयास प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।
यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले ‘बुन्डिबुग्यो’ भाइरसबाट हुने इबोलाको सम्भावित उपचारको प्रभावकारिता परीक्षण गर्न कङ्गोमा क्लिनिकल परीक्षण सुरु गरिएको जनाएको छ। हालसम्म उक्त भाइरसबाट हुने इबोलाका लागि कुनै स्वीकृत खोप वा विशिष्ट उपचार उपलब्ध छैन।












