काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले सुरु गरेको घरमै राहदानी वितरण सेवाप्रति सेवाग्राहीको रुचि बढ्दै गएको देखिएको छ। कार्यालयका अनुसार सेवा सञ्चालनको पहिलो महिनामै ४३ जनाले राहदानी घरमै प्राप्त गरेका छन्।
हुलाकमार्फत सरकारी कागजात वितरण गर्ने सरकारी नीतिअनुसार गत वैशाख २२ गतेदेखि ललितपुरमा यो सेवा लागू गरिएको हो। हालसम्म ६४ जनाले घरमै राहदानी प्राप्त गर्ने विकल्प रोजेका छन्।
जिल्ला हुलाक कार्यालय ललितपुरका अनुसार गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका तथा बागमती गाउँपालिकासम्म राहदानी वितरण गरिएको छ। कार्यालय प्रमुख रमा पन्तले विशेषगरी ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाका सेवाग्राहीले यो सेवा बढी उपयोग गरेको बताइन्। सीमित स्रोतसाधनका कारण कहिलेकाहीँ ढिलाइ भए पनि सेवा भरपर्दो रहेको उनको भनाइ छ।










