काठमाडौँ :- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ। संविधानको धारा ७६ (१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताका रूपमा उहाँलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।
वि.सं. २०४६ साल माघ २५ गते काठमाडौँको नरदेवीमा जन्मनुभएका शाहले राजनीति अघि फरक पहिचान बनाइसक्नुभएको थियो। रास्वपामा प्रवेश गर्नुअघि उहाँ २०७९ जेठदेखि २०८२ माघ ४ गतेसम्म काठमाडौँ महानगरपालिकाको मेयरका रूपमा कार्यरत रहनुभएको थियो।
युवा पुस्तामाझ निकै लोकप्रिय शाह र्यापर, संगीत निर्माता, गीतकार, निर्देशक तथा इन्जिनियरका रूपमा पनि परिचित हुनुहुन्छ। वि.सं. २०७२ सालको महाभूकम्पपछि उहाँले उद्धार तथा नक्सा निर्माणमा सक्रिय योगदान दिनुभएको थियो।
र्यापरदेखि काठमाडौँ महानगरको मेयर हुँदै प्रधानमन्त्रीसम्मको शाहको यात्रा नेपाली राजनीतिमा एक फरक र प्रेरणादायी उदाहरणका रूपमा हेरिएको छ।




