काठमाडौँ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने दाउन्ने सडक खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन गरिएको छ।
वर्षाका कारण शुक्रबारदेखि अवरुद्ध बनेको नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रमा आज बिहानदेखि पालैपालो सवारी साधन सञ्चालनमा ल्याइएको हो।
निर्माणाधीन रहेको उक्त सडक खण्डमा वर्षा भएपछि सडक चिप्लो र हिलो हुँदा बारम्बार यातायात अवरुद्ध हुँदै आएको छ।
अहिले एकतर्फी रूपमा सवारी सञ्चालन भए पनि हिलोका कारण दाउन्नेको उकालोमा सवारी साधन उक्लन समस्या भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार आज बिहानदेखि सवारी साधन सामान्य रूपमा एकतर्फी पास हुन थालेका छन्। दुम्किवासको ज्यामिरेसम्म करिब पाँच किलोमिटर लामो सवारी जाम रहेको छ।
तीन दिनसम्म सडक अवरुद्ध हुँदा यात्रु र चालकहरू अलपत्र परेका थिए।
नारायणगढ–बुटवल सडक खण्डको अधिकांश भाग कालोपत्रे भए पनि दाउन्नेको करिब चार किलोमिटर सडक निर्माण समयमै सम्पन्न नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएका छन्।




