काठमाडौँ । सामाजिक अभियन्ताको पहिचान बनाएका महावीर पुन म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ।
७१ वर्षीय पुनले नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९३१ मतान्तरले पराजित गर्दै २२ हजार ८५० मतसहित ऐतिहासिक जित हासिल गर्नुभएको हो।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा विसं २०११ माघ ११ गते जन्मनुभएका पुन हाल चितवनमा बसोबास गर्दै आउनुभएको छ।
अन्तरिम सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएका पुनले जन्मथलोबाट चुनाव लड्नका लागि गत माघ ४ गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो।
अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विसं २०४९ मा स्नातकोत्तर गर्नुभएका पुनले ग्रामीण क्षेत्रमा सूचना प्रविधि विस्तार, शिक्षा सुधार तथा पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। उहाँको नेतृत्वमा अन्नपूर्ण गाउँपालिकाका विद्यालयमा कम्प्युटर शिक्षा र ताररहित इन्टरनेट सेवा सुरु गरिएको थियो।
ग्रामीण क्षेत्रमा सूचना प्रविधि विस्तार गरेको योगदानका लागि पुनले सन् २००७ मा एसियाको नोबेल पुरस्कार मानिने रोमन म्यागासेसे पुरस्कार प्राप्त गर्नुभएको थियो। राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर युवा वैज्ञानिकलाई प्रोत्साहन गर्दै आउनुभएका पुनले आफ्नै जग्गा बिक्री गरी स्रोत जुटाउनुभएको थियो।




