काठमाडौँ :- वर्षाका कारण दाउन्ने क्षेत्रमा सडक चिप्लिँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ।
विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित सडक भासिएको स्थानमा वर्षा भएपछि सडक सतह चिप्लो बनेर सवारी आवतजावतमा समस्या भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार आज बिहानदेखि उक्त सडक खण्डमा यातायात प्रभावित भएको छ। बिहान करिब १० बजेदेखि सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको उहाँले बताउनुभयो।
हाल उक्त स्थानमा दुवैतर्फ करिब १०० देखि १५० वटा सवारीसाधन लामबद्ध रूपमा रोकिएका छन्। निरन्तर सिमसिम वर्षा भइरहेकाले सडक तत्काल सञ्चालनमा आउन कठिनाइ भएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मी र सडक आयोजना टोलीले सडक खुलाउने प्रयास गरिरहेका छन्।




