काठमाडौँ :- सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्तिलाई मकर (माघे) संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिन लामो र रात छोटा हुँदै जान्छन् । उत्तरायण प्रारम्भ हुने यस दिन स्नान, जप, तप, ध्यान र दानलाई विशेष पुण्यदायी मानिने धार्मिक विश्वास छ ।
माघे संक्रान्तिका अवसरमा देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत तीर्थस्थलमा माघ स्नान गर्न भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । यी स्थानहरूमा विशेष मेला पनि आयोजना हुन्छन् ।
तराई क्षेत्रमा माघ १ लाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाइन्छ । वर्षभर नुहाउने अनुकूल वातावरण नपाउने तराईवासीले पनि यस दिन अनिवार्य रूपमा स्नान गर्नुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरी तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार धर्मसिन्धु ग्रन्थमा माघ १ गते घ्यू, चाकु, तिलका परिकार र खिचडी नखाने, दान नगर्ने, जलाशयमा स्नान नगर्ने तथा ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ । उत्तरायणपछि शुभकार्य गर्न उत्तम मानिने भएकाले आज स्नान, दान, व्रत र ध्यान गर्नेले पुण्य प्राप्त गरी मनोकामना पूरा हुने जनविश्वास छ ।
माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो र खिचडी खाने चलन छ । जाडो समयमा न्यानो दिने यी परिकार स्वास्थ्यका लागि उपयोगी मानिन्छन् । आयुर्वेद चिकित्सकका अनुसार यस्ता खानाले त्रिदोष नाश गर्न सहयोग पुर्याउँछन् ।
कतिपय ठाउँमा पुसको अन्तिम दिन तरुल पकाएर माघमा खाने प्रचलनसमेत छ । यसै सन्दर्भमा ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखान प्रचलित रहेको छ ।




