बनेपा :- काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २८औँ वार्षिक साधारण सभाको अवसरमा युवा पत्रकार अरबिन्द्र गौतम सम्मानित भएका छन । भुम्लु गाउँपालिका–४, काभ्रेपलाञ्चोक निवासी गौतमलाई वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०८२ अन्तर्गत नगद तथा सम्मानपत्रसहित सम्मान प्रदान गरिएको हो।
सहकारी विषयलाई केन्द्र भागमा राखी समग्र सहकारी क्षेत्रको विकास, विस्तार तथा सुदृढीकरणका लागि सकारात्मक ढंगले समाचार सम्प्रेषण, लेख–रचना प्रकाशन, अध्ययन–अनुसन्धान तथा खोजमूलक पत्रकारितामार्फत निरन्तर योगदान पुर्याउँदै आएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै संघले उहाँलाई सम्मान गरेको जनाएको छ। साथै, छापा, श्रव्य–दृश्य तथा विद्युतीय माध्यममार्फत सहकारी क्षेत्रमा देखिएका विकृति र विसङ्गतिहरू उजागर गरी सहकारी अभियानलाई सचेत गराउन खेलेको भूमिकालाई पनि विशेष कदर गरिएको छ।
बनेपा नगरपालिका वडा नं. ६ स्थित चेतना केन्द्रमा सम्पन्न कार्यक्रममा संघका पदाधिकारीहरूले जिल्लाभर सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरूको अवस्था, समस्या र उपलब्धिलाई उजागर गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सहकारी अभियानलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन जिम्मेवार पत्रकारिताको आवश्यकता औँल्याए।
सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै पत्रकार गौतमले सहकारी क्षेत्रको सकारात्मक परिवर्तनका लागि अझ सचेत, तथ्यपरक र जिम्मेवार ढंगले कलम चलाइरहने प्रतिबद्धता व्यक्त गरेका छ्न ।



