काठमाडौँ :- उज्यालोको पर्वका रूपमा मनाइने तिहार अर्थात् यमपञ्चक आजदेखि विधिवत् सुरु हुँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व आजदेखि सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
आज दिउँसो १:२३ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकाले धनतेरस अर्थात् धनत्रयोदशी पर्व आज मनाइँदैछ। सोसँगै यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो।
काग तिहार आइतबार पर्ने समितिले जनाएको छ। समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार बेलुकी त्रयोदशी तिथि परेका दिन धनत्रयोदशी र यमदीपदान मनाउने शास्त्रीय परम्परा छ भने बिहान त्रयोदशी परेका दिन काग तिहार मनाइन्छ।
यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास रहँदै आएको छ। यस वर्ष धनवन्तरी जयन्ती पनि आइतबारकै दिन परेको समितिले जनाएको छ। तिथिको कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एउटै दिन पर्ने भएको छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार यमदीपदान परिवारका सदस्य संख्याका आधारमा दक्षिण फर्काएर गर्नुपर्छ। कार्तिक कृष्ण त्रयोदशीदेखि भाइटीका अर्थात् कार्तिक शुक्ल द्वितीयासम्म यमदीपदान गर्ने परम्परा छ।
समितिका अध्यक्ष ढकालका अनुसार कात्तिक २ गते आइतबार बिहान नरक स्नान गरेर कुकुर तिहार मनाइने र बेलुकी लक्ष्मीपूजा गरिनेछ। यस दिन बिहान अपामार्गसहित स्नान गरी बत्ती बालेर नदीमा बगाउँदा नरकको यातनाबाट मुक्ति मिल्ने विश्वास छ।
कात्तिक ३ गते दिउँसो २:५२ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि पर्ने भएकाले लक्ष्मीपूजा पनि यही दिन गर्नुपरेको समितिले जनाएको छ। कात्तिक ४ गते भने कुनै पर्व परेको छैन।
कात्तिक ५ गते बुधबार गाईगोरु पूजा, गोवद्र्धन पूजा, बलीपूजा, आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ को शुभारम्भ एकैदिन हुनेछ। यस दिन नयाँ वर्षका रूपमा नेपाल संवत् मनाइन्छ।
भाइटीका भने कात्तिक ६ गते बिहीबारका दिन मनाइनेछ। समितिका अनुसार भाइटीकाको शुभ साइत बिहान ११:३९ बजे रहेको छ। भाइटीका लगाउँदा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्कनुपर्ने परम्परा छ।
सर्वसाधारणका लागि भने मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् मानिन्छ। नेवारी समुदायमा यो पर्वलाई किजापूजा भनिन्छ।
तिहारलाई झिलीमिलीको चाड पनि भनिन्छ। एक साताअघि नै राजधानीसहित देशभर घरघरमा बत्ती बाल्न सुरु भइसकेको छ। बत्तीको उज्यालोले शहरहरू झिलिमिली बनेका छन्। केही ठाउँमा कोजाग्रत पूर्णिमादेखि नै दीपावलीको निरन्तरता दिने चलन पनि बढ्दो छ।
दसैंमा सुनसान देखिने काठमाडौं उपत्यका तिहारमा झिलिमिली र उल्लासमय बन्छ। लक्ष्मीपूजाका दिन भैलो र गोवद्र्धन पूजाका दिन देउसी खेल्ने परम्परा छ। सुदूरपश्चिम र कर्णालीका कतिपय ठाउँमा भने कोजाग्रत पूर्णिमादेखि नै देउसी–भैलो सुरु हुन्छ।
तिहारका अवसरमा कौडा, लंगुरबुर्जा, तासलगायतका जुवा खेल्ने चलन भए पनि नेपाल प्रहरीले सभ्य र सुरक्षित रूपमा पर्व मनाउन आग्रह गरेको छ।


