काठमाडौँ :- सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिको उपचारका लागि काठमाडौँ र उपत्यकाबाहिर ‘जेनजी क्लिनिक’ सञ्चालन गर्ने भएको छ। गृह मन्त्रालयका अनुसार घाइतेको पहिचान तथा सहज उपचार सुनिश्चित गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत तोकिएका अस्पतालमा क्लिनिक सञ्चालन गरिनेछ।
घाइतेलाई तोकिएका अस्पतालमा सहजीकरण गर्न गृह र स्वास्थ्य मन्त्रालयका सम्पर्क व्यक्ति तोक्ने निर्णय गरिएको छ। यस्तै, उपचारमा संलग्न विषयविज्ञ चिकित्सकको संयोजकत्वमा कार्यदल गठन गरी घाइतेको वर्गीकरण गरी उपचार प्रारम्भ गरिने मन्त्रालयले जनाएको छ।
सहज उपचारका लागि असोज १२ गतेदेखि गृह मन्त्रालयमा सहायता कक्ष स्थापना गरी घाइतेलाई परिचयपत्र वितरण गरिने व्यवस्था मिलाइएको छ। सो परिचयपत्रको आधारमा घाइतेले तोकिएका एम्बुलेन्समार्फत अस्पतालमा निःशुल्क आवतजावत गर्न सक्नेछन्। आवश्यक सम्पर्क नम्बर सार्वजनिक गर्ने तयारी पनि भइरहेको छ।
गत भदौ २३ र २४ गते भएको प्रदर्शनमा धेरै व्यक्ति घाइते भएका थिए। तीमध्ये केहीको विभिन्न अस्पतालमा अझै उपचार जारी छ।


