धादिङ :- धादिङ अस्पतालमा अत्यावश्यक औषधिको अभाव सुरु भएको छ, जसका कारण बिरामीहरू समस्यामा परेका छन्। खासगरी मृगौलाको डायलासिस गर्न आउने बिरामीहरूका लागि आवश्यक औषधि नपाउँदा उनीहरूमा ठूलो असुविधा परेको छ।
सेवाग्राहीहरूले अस्पताल व्यवस्थापनले औषधि सुनिश्चित गर्न कुनै पहल नगरेको गुनासो गरेका छन्। धादिङ अस्पतालका प्रमुख निमित्त निर्देशक गगन अधिकारी राजनीतिक भेटघाटमा व्यस्त हुने हुँदा व्यवस्थापनमा ध्यान नदिएको सेवाग्राहीको आरोप छ।
हाल अस्पतालमा डायलासिस सेवा लिइरहेका बिरामीहरू समेत समस्यामा परेका छन्। त्यस्तै, अस्पतालमा निःशुल्क उपलब्ध गरिनुपर्ने औषधि पनि बिरामीहरूले निजी औषधि पसलबाट महँगो मूल्य तिरेर किन्न बाध्य भएका छन्।




