काठमाडौँ :- भाद्र शुक्ल पूर्णिमाका दिन राजधानीको पश्चिमोत्तर भेग, चन्द्रागिरि नगरपालिका–१ मा अवस्थित धार्मिक स्थल इन्द्रदहमा आज बिहानैदेखि मेला लागेको छ।
परम्पराअनुसार भाद्र शुक्ल चतुर्दशीका दिन वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी मनाइने इन्द्रजात्रा पर्वपछि भक्तजन राति इन्द्रदहमा जाग्राम बस्न जाने गर्छन्। यही परम्परा अनुसार शनिबार राति भक्तजनहरू दिवङ्गत आफन्तको स्मरणमा इन्द्रदह पुगेका थिए। उनीहरूले आत्माको शान्तिको कामना गर्दै बत्ती बालेर जाग्राम बसेका थिए।
आज बिहान भने भक्तजनले इन्द्रदहमा स्नान गरी गणेश, इन्द्रलगायत देवीदेवताको पूजा आराधना सुरु गरेका छन्। हरेक वर्ष भाद्र शुक्ल पूर्णिमाको अवसरमा लाखौँ भक्तजन इन्द्रदह पुग्ने परम्परा रहिआएको छ।
दिवङ्गत आत्माको शान्ति र स्वर्गारोहणको कामना गर्दै इन्द्रको विशेष पूजा गर्ने यस अवसरमा बत्ती बाल्ने, स्नान गर्ने र देवीदेवताको आराधना गर्ने परम्परा प्रचलित छ। धार्मिक विश्वासअनुसार यसरी पूजा आराधना गर्दा शान्ति प्राप्त हुने मान्यता रहेको छ।


