मुग्लिन (चितवन) :- चेपाङ समुदायले आज (भदौ २२) आफ्नो प्रमुख सांस्कृतिक एवं धार्मिक पर्व न्वांगी (छोनाम) मनाउँदैछन्। यो पर्व हरेक वर्ष सामूहिक रूपमा मनाइने भएकाले यस दिनलाई समुदायले राष्ट्रिय पर्वका रूपमा स्थापना गरेका छन्।
यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा देशभरका चेपाङहरू भेला भई न्वांगी पर्व मनाइँदैछ। नेपाल चेपाङ सङ्घका अध्यक्ष गोविन्दराम चेपाङका अनुसार चितवन, मकवानपुर, धादिङ र गोरखा जिल्लामा पालैपालो गरी हरेक वर्ष भदौ २२ गते सामूहिक उत्सव आयोजना गर्ने परम्परा छ। सहभागी हुन नसक्नेहरूले भने आ–आफ्नो घर र टोलमै पर्व मनाउने गर्छन्।
न्वांगी पर्व भदौ महिनाभरि मनाइन्छ। समुदायका विभिन्न थरअनुसार भदौको पूर्णिमादेखि महिनाभरि नै उत्सव हुने भए पनि राष्ट्रिय रूपमा भने २२ गते सामूहिक रूपमा मनाइन्छ। चेपाङ समुदायका ६४ वटा थर रहेका छन्।
यस पर्वमा पितृ र भूमिलाई अर्पण नगरी नयाँ फलफूल वा अन्नपात खान नहुने धार्मिक मान्यता छ। पर्वकै दिन धान, काउनो, पिँडालु लगायतका नयाँ अन्नपात चढाइन्छ। चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि दिने परम्परा छ भने सामूहिक भोज, नाचगान र आपसी मेलमिलापले उत्सवलाई अझ रंगीन बनाउँछ। यसरी न्वांगीलाई नयाँ अन्न खाने दिनका रूपमा समेत लिइन्छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन्। तीमध्ये चितवनमा ३५ हजार ६३७, मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा ४ हजार २६८ जना बसोबास गर्छन्।
चेपाङ समुदायको संस्कृति र पहिचानसँग गाँसिएको न्वांगी पर्वलाई २०६३ सालदेखि नेपाल चेपाङ सङ्घको अगुवाइमा भदौ २२ गते सामूहिक रूपमा मनाउन थालिएको हो। यस पर्वलाई सम्मानस्वरूप बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक बिदा दिंदै आएको छ भने गोरखाको गण्डकी गाउँपालिकाले पनि स्थानीय बिदा दिने गरेको छ।


