काठमाडौँ :- भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी आज देशभर नेपाली नारीहरूले अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी श्रद्धापूर्वक मनाउँदैछन्।
यस दिन महिलाले बिहानै नजिकको नदी, खोला, ताल, तलैया वा पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गर्ने परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार रजस्वला अवधिमा भएका त्रुटिबाट मुक्ति पाउन ऋषि पञ्चमीका दिन सप्तऋषिको पूजा गर्ने चलन छ।
पौराणिक मान्यताअनुसार रजस्वलाको पहिलो दिन महिलालाई चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने भनिन्छ। त्यसैले आजको दिन दतिवन, गोबर, माटो र खरानीले स्नान गरी पञ्चगव्य सेवन गर्दा दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष तथा धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताएका छन्।
यसरी शुद्धीकरण पछि महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गर्छन्। सप्तऋषिको पूजा गर्ने भएकैले यस पञ्चमीलाई ‘ऋषि पञ्चमी’ नाम दिइएको हो।
यस पर्वसँग जोडिएको एउटा किंवदन्ती पनि प्रचलित छ। प्राचीन समयमा इन्द्रले विश्वरुपको हत्या गरी ब्रह्महत्याको पाप भोग्नुपरेको कथा पाइन्छ। ब्रह्माले इन्द्रलाई एक वर्षसम्म दोष भोग्न लगाई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा बाँडे। त्यसैले उषरभूमि, रूखको खोटो, पानीमा आउने फिँज तथा महिलामा रज देखिन थालेको धार्मिक विश्वास रहेको पण्डित मधुसूदन सुवेदीले उल्लेख गरेका छन्।
विश्वास अनुसार रजस्वलामा निस्कने विकृत रजले विभिन्न रोग निम्त्याउने भएकाले सप्तऋषिको पूजा गर्दा ती समस्याबाट मुक्त भइन्छ भन्ने जनश्रद्धा छ।
आज स्नान र पूजा सम्पन्न गरेपछि महिलाले नरोपी उम्रेका अन्नजस्तै सामा, कागुनो, कन्दमूल र कर्कला खाई एक छाक हविष्य बस्ने व्रत गर्ने प्रथा छ। काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा आज श्रद्धालु महिला भक्तजनको ठूलो भीड देखिन्छ।




