काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद एवं अन्तर संसदीय संघ (आईपीयू) को स्वास्थ्य समिति सदस्य सोबिता गौतमले स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीला बनाएर अघि बढ्न आह्वान गरेकी छिन् ।
स्वीट्जरल्याण्डको जेनेभामा आयोजित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को ७९ औं सभा अन्तर्गतको ग्लोबल संसदीय संवादमा सहभागी हुँदै उनले यसका लागि आवश्यक कानुन र लगानी सुनश्चितता गर्न लाग्नुपर्ने बताइन् ।
संवादमा सहभागी हुने क्रममा गौतमले भनिन्, ‘दृढताका साथ कानुन बनाऔं, निर्भयतापूर्वक आवश्यक लगानी गरौं,’ ‘स्वास्थ्यलाई शान्ति र न्यायको आधारशीलाको रूपमा संरक्षण गरौं ।’
‘विश्व स्वास्थ्य सभाका प्राथमिकताहरूलाई अगाडि बढाउन सांसदहरूको निर्णायक भूमिका’ विषयक संवादका क्रममा उनले अब सांसदहरू परिवेक्षक मात्रै नभइ दूरगामी विकासका नेतृत्वकर्ताको रुपमा अघि बढ्नुपर्ने बताइन् । ‘सांसदहरू अब परिवेक्षकजस्तो मात्र होइन, हामी उत्तरदायित्वको रक्षा गर्ने, समताका पक्षधर, र दूरगामी विकासका नेतृत्वकर्ता हौं,’ उनले भनिन् ।




