काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कानुन नबनाई रोजगारीका लागि महिलालाई विदेशमा नपठाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
आजको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले श्रम मन्त्रालयका केही सल्लाहकार भन्नेहरूले कानुनबिना महिलाहरूलाई घरेलु कामदारको रूपमा बाहिर पठाउनको लागि ठुलो रकम लिएको दाबी गर्दै कानुन नबनाई महिलाहरूलाई बाहिर नपठाउन सरकारसँग आग्रह गरेका हुन् ।
उनले भने, ‘भिजिट भिसाबाट अहिले धेरै महिलाहरू दुबई हुँदै कुवेत, साउदी अरेबिया पुगेका छन्, श्रम मन्त्रालयका केही सल्लाहकार भन्नेहरूले लुभुमा चार रोपनी जग्गा लिएर महिला कामदारलाई घरेलु कामदारको रूपमा बाहिर पठाउनको लागि ठुलो रकम लिइएको जानकारीमा आएको छ । तालिम दिइरहेको जानकारीमा आएकाले कानुन नबनाई यस्ता काम नगरियोस् भन्ने ध्यानाकर्षण सभामुखमार्फत सरकारलाई गराउन चाहन्छु,’ ।




