२०८१ माघ १०, बिहिबार
भकुण्डे :- व्यक्तिगत हुदै आएको घरजग्गा कारोवार अब कम्पनी मार्फत हुने भएको छ । घर जग्गा खरिद, सट्टापट्टा लगायतका काम गर्ने गरी नमोबुद्ध–७ भकुण्डेवेशीमा गोर्खा ल्याण्ड डेभलप्मेन्ट प्रालिको शाखा शुभारम्भ गरिएको हो ।
२०७३ सालमा कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा दर्ता भएर कागेश्वरी मनोहरा–६ मा केन्द्रीय कार्यालय रहेको कम्पनीले नमोबुद्ध नगरपालिकाबाट स्विकृती लिएर व्यवस्थित आवास निर्माण, जग्गा प्लटिङ लगायतको काम समेत गर्ने अध्यक्ष मनोज आचार्यले जानकरी दिए । कम्पनी मार्फत घरजग्गा खरिद तथा सट्टापट्टा, घरको नक्सा डिजाइन तथा अफिस पार्टेसन, जग्गा भाडामा लिने–दिने, घर, विद्यालय, टहरा, कृषि फर्म, अफिस, होटल, क्याफे, रेष्टुरेन्ट आदि निर्माण समेत हुने आचार्यले जानकारी दिए । कम्पनीले निर्माण सम्बन्धी प्राविधिक तथा इन्जिनियरिङ सेवा, घरजग्गा नापजाँच गर्ने प्राविधिक, घरजग्गा मूल्याकंनका साथै बालुवा, रोडा, इट्टा, काठ लगायतका निर्माण सामाग्रीको काम समेत गर्ने जनाएको छ । निकट भविष्यमा बनेपा, पाँचखाल र ललितपुरको लुभुमा शाखा विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको भकुण्डेवशी स्थित कार्यालय वडा नं ७ का अध्यक्ष धर्मसिं लामाले उद्धघाटन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले शहरीकरणको क्रममा रहेको भकुण्डेवशी र नमोबुद्धमा यस प्रकारका निर्माण कम्पनीको आवश्यकता महशुस गर्दै शुरुवात भएकोमा शुभकामना व्यक्त गरे । भकुण्डेवेशी एउटा राम्रो सम्भावनाको क्षेत्र भएको भन्दै उनले निश्चित स्थान तोकेर व्यवस्थित रुपमा पूर्वाधार विकास, आवास क्षेत्र निर्माण गर्न अनुरोध गरे । जनक बहुमुखी क्याम्पसका प्रमुख हरिहर अधिकारीले सो क्षेत्रको लागि नयाँ व्यवसाय भएको भन्दै सफलताको कामना गरे ।
कार्यक्रममा नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठ, व्यवसायी सन्तोष अधिकारी, ज्ञानेन्द्र श्रेष्ठ, गोर्खा ल्याण्ड डेभेलप्मेन्ट प्रालिका सञ्चालक भैरव वडाल, किश्वर दुलाल, गोर्खा विकास बचत तथा ऋण सहकारी संस्थाका कर्जा संयोजक विनोद अधिकारी लगायतका विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिती थियो ।
बागमती मिडिया हाउस द्वारा संचालित
बनेपा ७, काभ्रेपलाञ्चोक
ईमेल: [email protected]
सम्पर्क फोन- ९८५१०५१९८४
स्थायी लेखा नं.: १०६५२०७६१
प्राईभेट फर्म दर्ता नं.: १२२४८/०७९
सूचना विभाग दर्ता नम्बर: २९८८-२०७८/२०७९