काठमाडौं :- बर्दघाट सुस्तापश्चिम नवलपरासीमा दुई सातादेखि वर्षा नहुँदा खडेरी लम्बिएको छ। अत्यधिक गर्मी र पानीको अभावका कारण धानखेतमा रोपिएका बिरुवा सुक्न थालेपछि किसानहरू चिन्तित बनेका छन्।
लामो समयदेखि पानी नपर्दा खेतमा धाँजा फाट्न थालेको छ भने सिँचाइका स्रोतहरू पनि सुक्दै गएका छन्। पाल्हीनन्दन गाउँपालिका–६ का किसान दीनानाथ यादवका अनुसार रोपिएका धानका बिरुवा सुक्न थालेपछि थप रोपाइँको काम रोकिएको छ। खडेरीका कारण डिप बोरिङ र चापाकलमा समेत पानी घट्दै जाँदा पिउने पानीको समस्या पनि बढेको उनले बताए।
पाल्हीनन्दन–५ का वडाध्यक्ष दयाशङ्कर त्रिपाठीका अनुसार गण्डक नहरको दक्षिणतर्फका केही क्षेत्रमा चापाकलबाट थोरै पानी उपलब्ध भए पनि अधिकांश गाउँमा खानेपानीको हाहाकार छ। पानीको अभाव भएपछि स्थानीयवासीले चन्दा सङ्कलन गरी मोटर सञ्चालन गरेर डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गर्नुपरेको उनले जानकारी दिए।
त्रिपाठीका अनुसार दुई साताभन्दा बढी समयदेखि वर्षा नहुँदा अत्यधिक गर्मी बढेको छ र रोपिएका धानका बिरुवा सुक्न थालेपछि बाँकी खेतमा धान रोप्ने कामसमेत रोकिएको छ।
कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख शिवप्रसाद अर्यालले समयमै वर्षा नहुँदा किसानहरू चिन्तित बनेको बताए। उनका अनुसार जिल्लामा हालसम्म करिब ४० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ। तर लगातारको खडेरीका कारण रोपिएका बिरुवा सुक्न थालेका छन् भने खानेपानीको संकटले स्थानीय जनजीवनसमेत प्रभावित भएको छ।
पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको समाचारसँगै किसानहरूले अब छिट्टै वर्षा हुने आशा गरेका छन्। वर्षा भए गर्मी कम हुने, खानेपानी तथा सिँचाइको समस्या समाधान हुने र सुक्न थालेका धानका बिरुवाले पुनः जीवन पाउने अपेक्षा गरिएको छ।










