काभ्रे :- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) काभ्रे प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को पाँचौँ दिनको घरदैलो अभियान बनेपा नगरपालिकामा भएको छ । शुक्रबार बिहानदेखि सुरु भएको मतदाता भेटघाटमा नेकपाका उम्मेदवार बसुन्धरा हुँमागाईलाई तारा चिन्हमा मतदान गर्न स्थानीय जनताहरुले आग्रह गरेका छन्।
जनताका प्रिय उम्मेदवारलाई नागरिकहरूले स्वस्फूर्त रूपमा मतदान गर्न आग्रह गरि उदाहरण बनेका छन् नालास्थित चौतारीका चामुण्डा भजन समूह। शुक्रबार बनेपा नगरपालिका वडा नम्बर ३ चौतारामा आयोजित मतदाता भेटघाट कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार बसुन्धरा हुँमागाईलाई विजयी गराउन भजनमार्फत आम मतदातालाई आग्रह गरिएको हो।

भजन समूहले प्रस्तुत गरेका गीतमार्फत “पानी खुवाउने नेतालाई भोट दिने” सन्देश दिँदै उम्मेदवार हुँमागाईप्रति समर्थन जनाएका थिए। स्थानीयले फुलमाला र टीका लगाएर स्वागत गर्नुका साथै बाटो–बाटोमा पानीका कलस र घडा राखी सत्कार गरेका थिए, जसले चोक र सडक क्षेत्रमा रौनकता छाएको थियो।
आज नेकपा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचन परिचालन समितिका संयोजक टोकबहादुर वाईबाको नेतृत्वमा उम्मेदवार हुँमागाईसहितको टोली बनेपा नगरपालिका वडा नम्बर १, २ र ३ का विभिन्न स्थानमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष भेटघाटमा पुगेको हो। सो क्रममा स्थानीय मतदाताहरूले उम्मेदवार हुँमागाईसहितको टोलीलाई भव्य स्वागत गरेका थिए।
मतदाताहरूले स्वच्छ छवि, सरल स्वभाव र काम गर्ने नेताको रूपमा परिचित हुँमागाईलाई तारा चिन्हमा मतदान गरी विजयी गराउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। स्थानीयका अनुसार हुँमागाईको पहलमा सडक कालोपत्रे, पुल, कुलो र धारा निर्माण जस्ता विकास कार्यहरू सम्पन्न भएका छन्।
निर्वाचन नजिकिँदै गर्दा उम्मेदवार हुँमागाई पार्टी संगठनका जिम्मेवार नेताहरूसहित बनेपा नगरपालिका नाला क्षेत्र पुगेका हुन्। सो अवसरमा उनले आफू सधैं जनताको साथमा रहेको र जनताको सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनतासँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आगामी निर्वाचनमा तारा चिन्हमा मतदान गर्न आग्रह गर्दै उम्मेदवार हुँमागाईले आफू विजयी भएपछिका दिनमा जनताको विकास निर्माणसम्बन्धी सबै योजनाहरूलाई पूर्णता दिने जिम्मेवारी लिने प्रतिबद्धता जनाए ।
नाला क्षेत्रका मतदाताहरूले पनि स्वच्छ छवि, जनताको भावना बुझ्ने र आवश्यकताको पूर्ति गर्न सक्ने सरल र कर्मठ उम्मेदवारलाई मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




