काठमाडौँ :– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीले भरतपुर अस्पतालसहित चितवनका विभिन्न अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बन्द गर्दा ११ हजारभन्दा बढी बिरामी प्रभावित भएका छन्।
शनिबार वीरगञ्ज महानगरपालिका–२५ का राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएको थियो। उनको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको आरोप परिवार तथा आफन्तले लगाउँदै आएका छन्।
उक्त आरोप खेपिरहेका नारायणी अस्पतालका मेडिकल अफिसर डा. प्रमोद राममाथि आक्रमण भई गम्भीर घाइते भएपछि त्यसको विरोधमा चितवनका स्वास्थ्य संस्थाले बहिरङ्ग सेवा बन्द गरेका हुन्।
भरतपुर अस्पतालमा सोमबार मात्रै करिब तीन हजार ५०० बिरामीले बहिरङ्ग सेवा लिने गरेका छन्। यस्तै, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा करिब एक हजार २००, चितवनका दुई मेडिकल कलेजमा दुई हजारभन्दा बढी र निजी अस्पतालमा चार हजारभन्दा बढी बिरामी दैनिक ओपीडी सेवाका लागि आउने गरेका छन्।
सेवा बन्द हुँदा उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन्। मधुमेह र उच्च रक्तचापको औषधि सकिएपछि भरतपुर अस्पताल पुगेकी मायादेवी लम्सालले उपचार रोकेर आन्दोलन गर्दा आफू समस्यामा परेको बताइन्। अर्का सेवाग्राही रन्जीत तामाङले पनि ओपीडी बन्द हुँदा उपचार गर्न नपाएको गुनासो गरे।
भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनका दुई मेडिकल कलेज तथा २३ वटा साना अस्पतालका बहिरङ्ग सेवा प्रभावित भएका छन्। आकस्मिक सेवा भने सञ्चालनमा रहेको जनाइएको छ।
नेपाल चिकित्सक सङ्घ, चितवनका वरिष्ठ उपाध्यक्ष डा. दीपेन्द्र न्यौपानेले चिकित्सकमाथि भएको आक्रमण निन्दनीय भएको भन्दै दोषीमाथि कारबाही नभएसम्म नियमित सेवा सञ्चालन गर्न कठिन हुने बताए।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भारतीय सीमा क्षेत्रबाट समेत ठूलो सङ्ख्यामा बिरामी आउने गरेका छन्। सेवा बन्द हुँदा उनीहरू पनि प्रभावित भएका छन्।












