काठमाडौँ :- सल्यान प्रहरीले जिल्लाका दुई सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइराखिएका ६ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार वनगाड कुपिण्डे नगरपालिका–१२ स्थित भदाले सामुदायिक वनबाट चार थान र छत्रेश्वरी गाउँपालिका–१ स्थित जुगेखोला सामुदायिक वनबाट दुई थान भरुवा बन्दुक फेला पारिएको हो।
सामुदायिक वनमा बेवारिसे अवस्थामा अवैध बन्दुक लुकाइराखिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमाचौरबाट खटिएको संयुक्त टोलीले खोजतलासका क्रममा उक्त बन्दुकहरू बरामद गरेको प्रहरीले जनाएको छ।
बरामद गरिएका बन्दुक कसले, कहिले र कुन उद्देश्यका लागि त्यहाँ लुकाइराखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।












