काठमाडौँ :- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सरकारले विद्युत् खपत बढाउन आवश्यक नीतिगत तथा प्राविधिक तयारीलाई तीव्र बनाएको बताएका छन्।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेटमा विद्युतीय पूर्वाधारको विस्तार र स्तरोन्नतिलाई उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै उनले विद्युत् खपत वृद्धि गर्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणमा सरकार केन्द्रित रहेको बताए।
मन्त्री श्रेष्ठका अनुसार खाना पकाउने एलपी ग्यासलाई क्रमशः विस्थापन गर्ने, विद्युतीय सवारीसाधनको प्रयोग बढाउने तथा आन्तरिक विद्युत् खपत विस्तार गर्ने लक्ष्यअनुसार विद्युतीय पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको छ। यसका लागि सरकारले रु ८० अर्ब लगानी गरिरहेको उनले जानकारी दिए।
उनले भरपर्दो प्रसारण तथा वितरण प्रणाली, आन्तरिक खपत वृद्धि र ऊर्जा व्यापारलाई केन्द्रमा राखेर मन्त्रालयले निरन्तर काम गरिरहेको बताए।
“नागरिकको जीवनशैलीमा परिवर्तन आएको छ, उद्योग–व्यवसाय विस्तार भएका छन् र देशभर विद्युतीय उपकरणको प्रयोग बढेको छ। यससँगै विद्युत्को माग पनि तीव्र रूपमा बढिरहेको छ,” मन्त्री श्रेष्ठले भने।
उनले जीर्ण तथा न्यून क्षमताका प्रसारण र वितरण पूर्वाधारलाई आधुनिकीकरण गर्ने, ट्रान्सफर्मरको स्तरोन्नति गर्ने तथा प्रसारण प्रणालीमा नवीन प्रविधिको प्रयोग गर्ने नीतिअनुसार नेपाल विद्युत् प्राधिकरणलाई आवश्यक निर्देशन दिइएको पनि बताए।












