काठमाडौँ :- वीरगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब ४३ अर्ब ८२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो कार्यालयलाई दिइएको वार्षिक लक्ष्यको ८९.१९ प्रतिशत रहेको कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिएका छन्।
गत आर्थिक वर्षका लागि कार्यालयलाई २ खर्ब ७३ अर्ब ३७ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिएको थियो। भन्सार विभागले देशभरका सबै भन्सार कार्यालयबाट कुल ५ खर्ब ८८ अर्ब २५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा वीरगञ्ज भन्सारको योगदान ४१.४५ प्रतिशत रहेको छ।
कार्यालयले साउनमा १८ अर्ब ४४ करोड, भदौमा २० अर्ब ७४ करोड, असोजमा १९ अर्ब ९ करोड, कात्तिकमा १७ अर्ब ३३ करोड र मङ्सिरमा २० अर्ब ८० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।
यस्तै, पुसमा २० अर्ब २० करोड, माघमा १८ अर्ब ९२ करोड, फागुनमा १९ अर्ब ३४ करोड, चैतमा २२ अर्ब ८२ करोड, वैशाखमा २१ अर्ब ७४ करोड, जेठमा २२ अर्ब ३२ करोड र असारमा २२ अर्ब ४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।












