काठमाडौँ :- एक महिलालाई बारम्बार अश्लील तथा अपमानजनक इमेल पठाई दुःख, हैरानी र मानसिक तनाव दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१०, कपन बस्दै आएका ३४ वर्षीय सुरेन्द्र प्रसाद खनाल रहेका छन्।
पीडित महिलाले आफूलाई निरन्तर अश्लील र अपमानजनक सन्देश पठाएर मानसिक तनाव दिएको भन्दै दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान थालेको थियो। प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा खनालको संलग्नता पुष्टि भएपछि उनलाई असार २६ गते काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार खनालविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।












