काठमाडौँ :- परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमार्फत विश्वभर रहेका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका छन्।
आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद् र भानु माध्यमिक विद्यालयद्वारा आयोजित ‘भानु प्रतिमामा माल्यार्पण समारोह’लाई सम्बोधन गर्दै मन्त्री खनालले भानुभक्तले भाषाको माध्यमबाट नेपाललाई विश्वसँग जोड्ने ऐतिहासिक योगदान दिएको उल्लेख गरे।
उनले नेपाली भाषा, धर्म, संस्कृति र सभ्यतालाई नेपालको ‘सफ्ट पावर’का रूपमा व्याख्या गर्दै संसारको जुनसुकै कुनामा रहेका नेपालीलाई नेपाली भाषाले नै आपसी सम्बन्ध र आफ्नोपनको भावना दिलाएको बताए।
मन्त्री खनालले पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेझैँ भानुभक्त आचार्यले भाषा र साहित्यमार्फत नेपाली समाजको भावनात्मक एकीकरण गरेको उल्लेख गरे। उनले ‘घाँसी’ कविताको सन्दर्भ जोड्दै प्रत्येक नागरिकले समाज र राष्ट्रका लागि आफ्नो तर्फबाट अर्थपूर्ण योगदान गर्नुपर्नेमा पनि जोड दिए।












