काठमाडौँ :- नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि सञ्चालन गरेको ‘जरा अभियान’ साउन ६ गते औपचारिक रूपमा समापन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयले प्रदेश, जिल्ला र पालिका कार्यसमितिलाई परिपत्र जारी गर्दै अभियानको समापन तथा आगामी कार्यतालिकाबारे जानकारी गराएको हो।
महामन्त्री प्रदीप पौडेलद्वारा जारी परिपत्रअनुसार १५औँ महाधिवेशनअन्तर्गत क्रियाशील सदस्यता फारम वितरण र नयाँ सदस्यको विवरण अनलाइन प्रणालीमा प्रविष्ट गर्ने समय साउन ३ गतेसम्म थप गरिएको छ। साउन ६ गते जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा जिल्ला कार्यसमितिको आयोजनामा ‘जरा अभियान’ औपचारिक रूपमा समापन गरिने जनाइएको छ।












