काठमाडौँ :- निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा. जानकीकुमारी तुलाधरले सम्हालेकी छन्।
यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी असार २३ गते ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि वरियताअनुसार डा. तुलाधरलाई उक्त जिम्मेवारी दिइएको हो।
भण्डारीकै नेतृत्वमा गत फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो। हाल पाँच सदस्यीय आयोगमा डा. तुलाधर र आयुक्त सगुनशमशेर जबरा मात्रै कार्यरत छन्।
यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको कार्यकाल सकिएको थियो। संवैधानिक परिषद्ले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा सिफारिस गरिसकेको छ।












