काठमाडौँ :- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेसम्म स्पष्ट नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्न नसकेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत पोखरेलले वैकल्पिक शक्तिसँग वैकल्पिक नीति पनि हुने जनअपेक्षा रहे पनि रास्वपाको कार्यशैलीमा स्पष्ट मार्गचित्र नदेखिएको बताएका छन्। उनले रास्वपाले स्पष्ट नीति बिना नै सत्तालाई प्रयोगशालाका रूपमा प्रयोग गरिरहेको टिप्पणी गरेका छन्।
पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरू शपथग्रहणपछि सस्तो लोकप्रियता कमाउने उद्देश्यमा केन्द्रित भएको दाबी गर्दै सरकारको कार्यशैलीमा गम्भीर विरोधाभास देखिन थालेको उल्लेख गरेका छन्।
उनले नयाँ सरकार गठनपछि आर्थिक सुधारका संकेत नदेखिएको, बजारमा महँगी, कालोबजारी तथा हत्या, हिंसासहितका अपराधका घटना बढेको आरोप लगाउँदै सरकारप्रतिको आश र त्रासका कारण पीडितहरूका आवाजसमेत कमजोर बन्दै गएको दाबी गरेका छन्।












