काठमाडौँ :- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
समितिका अनुसार उपलब्ध ऋण विवरणका आधारमा आज उक्त नामावली सार्वजनिक गरिएको हो। यस क्रममा ऋण चुक्ता गरिसकेका तर नाम सूचीमा परेका व्यक्तिलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।
समितिले ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी बक्यौता चुक्ता गर्न सूचित गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता गराउने र उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको छ।












