काठमाडौं :- सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै उद्देश्य नराखेको स्पष्ट गर्दै कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन्।
नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रता : सञ्चार कानुन र जिम्मेवार पत्रकारिता’ विषयक कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता सीमित गर्न लागेको भन्ने धारणा गलत भएको बताए।
उनले लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता भएको उल्लेख गर्दै सरकार यसप्रति पूर्ण प्रतिबद्ध रहेको बताए। प्रेस स्वतन्त्रता संविधानद्वारा सुनिश्चित अधिकार भएकाले त्यसको हनन कसैले गर्न नसक्ने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले कुनै कानुन वा नीतिका विषयमा सञ्चार क्षेत्रलाई असन्तुष्टि भए सरकार संवाद र छलफलका लागि सधैं तयार रहेको बताए। कतिपय विषय व्याख्या र दृष्टिकोणका कारण फरक रूपमा बुझिन सक्ने भएकाले त्यस्ता विषय संवादबाट समाधान गर्न सकिने उनको धारणा थियो।
उनले अहिलेको मुख्य बहस प्रेस स्वतन्त्रता छ वा छैन भन्ने नभई सरकार कति जिम्मेवार छ भन्ने विषय हुनुपर्ने बताए। सरकार जिम्मेवार हुनुपर्नेमा कुनै विवाद नरहेको उल्लेख गर्दै सरकारका कमजोरीमाथि प्रश्न उठाउनु र जवाफदेही बनाउन पत्रकारहरूको प्रमुख दायित्व भएको उनले बताए।












