काठमाडौं :- राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन्।
रोटरी क्लब अफ भादगाउँद्वारा आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित सम्मान कार्यक्रममा सम्बोधन गर्दै उनले सहकार्य, सद्भाव र सहिष्णुताले समाजलाई असल मार्गमा अघि बढ्न प्रेरित गर्ने बताए।
राष्ट्रपति पौडेलले सेवा, करुणा र मानवताको भावलाई व्यवहारमा उतार्दै विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित हुनु सबैको साझा दायित्व भएको उल्लेख गरे।
उनले निःस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता बदलिँदो विश्व परिवेशमा अझ सान्दर्भिक बन्दै गएको बताए।
राष्ट्रपति पौडेलले समाजसेवा, मानवता र शान्तिको अभियानमा रोटरीको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै यो संस्था सेवा, मित्रता, सद्भाव र विश्वमानवतामा आधारित विश्वव्यापी अभियान भएको र यसका सदस्यहरू समाज रूपान्तरणमा सक्रिय रहेको बताए।
संयुक्त राष्ट्रसङ्घको चार्टर लेखनमा रोटरीले पुर्याएको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उनले पोलियो उन्मूलन, प्रतिभाशाली युवालाई छात्रवृत्ति, साथै नेपाल र भुटानमा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, वातावरण संरक्षण, विपद् व्यवस्थापन र समुदाय विकासका क्षेत्रमा रोटरीले खेलेको भूमिका उदाहरणीय रहेको बताए।
कार्यक्रममा रोटरीका १४ जना पूर्व डिस्ट्रिक्ट गभर्नर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो।










